बीबीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच एक वर्षभन्दा बढी समयपछि बुधबार पहिलोपटक प्रत्यक्ष भेट भएको छ। उनीहरू चिनियाँ राष्ट्रपति सी चिनफिङसँग चीनमा हुने महत्त्वपूर्ण वार्ताको तयारीमा छन्।
एसिया प्रशान्त क्षेत्रका नेताहरूको शिखर सम्मेलनमा सहभागी हुन चीनको सेन्जेन पुगेका ट्रम्पलाई चिनियाँ राष्ट्रपति सीले विमानस्थलमै स्वागत गरेका थिए। सम्मेलनको मुख्य आकर्षण बिहीबार हुने ट्रम्प, सी र पुटिनबीचको भेटवार्ता हुने अपेक्षा गरिएको छ।
विमानस्थलमा ट्रम्प र सीले योजनाबद्ध रूपमा हात मिलाउँदै अँगालो हालेका थिए। त्यसपछि ट्रम्पले स्वागत समारोहअघि पुटिनसँग पनि भेटेर हात मिलाए र सामान्य शिष्टाचार आदानप्रदान गरे।
ट्रम्प र पुटिनबीच बिहीबार शिखर सम्मेलनका क्रममा छुट्टै भेटवार्ता हुने अपेक्षा गरिएको छ। त्यसक्रममा युक्रेन युद्धबारे छलफल हुन सक्नेछ।
तर एसिया प्रशान्त आर्थिक सहयोग (एपेक) मञ्चको मुख्य ध्यान बिहीबार हुने अमेरिका, चीन र रुसका नेताबीचको वार्तामा केन्द्रित हुनेछ। तीनै देशका नेता पहिलोपटक एकै ठाउँमा प्रत्यक्ष भेट्न लागेका हुन्।
वार्ताको पूर्ण कार्यसूची सार्वजनिक गरिएको छैन। तर युक्रेन र इरानका युद्ध, आणविक हतियारको प्रसार, व्यापारिक तनाव र कृत्रिम बुद्धिमत्ता (एआई) मा भएका विकासलगायत विषय छलफलमा समेटिन सक्ने संकेत विभिन्न पक्षबाट आएका छन्।
बुधबार ट्रम्प र पुटिनबीचको छुट्टै वार्ता कुन स्वरूपमा हुनेछ भन्ने स्पष्ट थिएन। तर क्रेमलिनका एक प्रवक्ताले ठूलो प्रतिनिधिमण्डलको उपस्थितिबिनै छोटो अनौपचारिक कुराकानी हुन सक्ने संकेत गरेका छन्।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भने किभ वा युरोपका प्रतिनिधि सहभागी नभएको अवस्थामा युद्ध अन्त्य गर्ने योजनाबारे छलफल हुन सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन्।

बुधबार भएको हात मिलाइ ट्रम्प र पुटिनबीच सन् २०२५ को अगस्टपछि भएको पहिलो प्रत्यक्ष भेट हो। त्यसबेला रुसी राष्ट्रपति युक्रेन युद्धबारे वार्ता गर्न अमेरिकाको अलास्का पुगेका थिए। तर उक्त वार्ताबाट कुनै ठोस सहमति हुन सकेको थिएन।
ट्रम्पलाई विमानस्थलमा सी आफैँले स्वागत गर्नु गत सेप्टेम्बरमा चिनियाँ नेता वासिङ्टन भ्रमणमा आउँदा अमेरिकी राष्ट्रपतिले गरेको स्वागतको झल्को दिने खालको थियो। त्यसबेला सीले ट्रम्पको स्वागतलाई ‘विशेष’ भनेका थिए।
सेन्जेनमा ट्रम्पको स्वागतका लागि एयर फोर्स वन विमानअगाडि रातो कार्पेट बिछ्याइएको थियो। उनलाई स्वागत गर्न ठूलो संख्यामा मानिस भेला भएका थिए। सम्मान गारद, सैन्य विमानको उडान प्रदर्शन र फूल प्रदान गर्ने कार्यक्रमसमेत राखिएको थियो।
चीनको सरकारी समाचार संस्था सिन्ह्वाका अनुसार सीले सम्मान, निष्पक्षता र समानतामा आधारित रचनात्मक, रणनीतिक तथा स्थिर सम्बन्ध अघि बढाउन चाहेको बताएका छन्।
सीको यो स्वागतलाई अमेरिकी समकक्षीसँगको साताभर चल्ने वार्ता सौहार्दपूर्ण वातावरणमा सुरु गर्ने उद्देश्यले गरिएको कूटनीतिक संकेतका रूपमा हेरिएको छ।
एपेक शिखर सम्मेलन आयोजना भइरहेको चीनको दक्षिणपूर्वी सहर सेन्जेन उत्पादन र उच्च प्रविधिका क्षेत्रमा तीव्र विकास भइरहेको सहर हो।
यो सम्मेलन यस्तो समयमा भइरहेको छ, जतिबेला एनभिडियाका प्रमुख कार्यकारी अधिकृत जेन्सेन हुआङलाई पदबाट हटाइएको र बेइजिङका लागि जासुसी गरेको आशंका गरिएकी महिलासँग उनको सम्बन्ध रहेको दाबी सार्वजनिक भएको छ। अमेरिकी गुप्तचर निकायले ती महिलामाथि शंका गरेको बताइएको छ। चीनले भने उक्त दाबीलाई ‘बदनाम गर्ने प्रयास’ भन्दै खारेज गरेको छ।
ट्रम्पले चीनसँग सम्बन्ध सुधार्ने प्रयास गरिरहेका छन्। तर यो घटनाले दुई शक्तिशाली देशबीचको तनाव अझै कायम रहेको देखाउँछ।
ट्रम्प चीन आइपुग्नुभन्दा केही घण्टाअघि पुटिन सेन्जेन पुगेका थिए। उनले सीसँग करिब दुई घण्टा वार्ता गरेका थिए। पुटिन र सीबीच आर्थिक तथा रक्षा सम्बन्ध थप मजबुत बनाउने प्रयास हुँदै आएको छ।
सिन्ह्वाका अनुसार सीले दुवै देशले ‘स्थिर र साहसिक रूपमा अघि बढ्ने’ बताएका छन्। उनले चीन र रुसबीचको सम्बन्धलाई आँधीबेहरीले समेत हल्लाउन नसक्ने पहाडजस्तै स्थिर रहेको बताएका छन्।