निर्देशक अशोक थापामगर पछिल्लो समय नेपाली फिल्म क्षेत्रमा रुचाइएका नाम हुन्। ‘कोरियन ड्रीम’ वृत्तचित्रमार्फत फिल्म निर्देशनमा प्रवेश गरेका उनी निर्देशित पहिलो फिचर फिल्म ‘खुश्मा’ सुपरहिट भयो। यसले उनलाई पहिचान र पैसा दुवै दियो। उनै अशोक अहिले आफ्नो आगामी फिल्म ‘जलाकी’ लिएर दर्शकमाझ आउँदैछन्।
मगर संस्कृतिको परिवेशमा उनले सामाजिक संवेदनाका मर्मस्पर्शी कथा भन्छन्। ‘जलाकी’मा उनले प्रेम, वैदेशिक रोजगारी, संस्कृति र परिवारको कथा बुनेका छन्। फिल्म ४ मंसिरदेखि प्रदर्शनमा आउँदैछ। प्रस्तुत छ, मगरसँग गरिएको संक्षिप्त संवाद :
‘जलाकी’को अर्थ, सन्दर्भ र सन्देश के हो ?
मगर समुदायमा कसैको सम्झना, पहिचान र आस्थाको प्रतीकका रूपमा ढुंगाको स्तम्भलाई मानिन्छ। हाम्रो फिल्मको एउटा कथानक भेडीगोठसँग सम्बन्धित छ। मगर समुदायमा पनि तीनवटा फरक भाषा बोल्ने समूह छन्। तीमध्ये ढुट र खाम भाषा बोल्ने समुदायको सन्दर्भ यसमा जोडिएको छ। भेडीगोठको परम्परा खाम भाषी समुदायमा पाइन्छ, जुन रुकुम-रोल्पातिर छ। गण्डक क्षेत्रमा भने ढुट भाषा बोल्नेहरू धेरै हुनुहुन्छ।
मगर संस्कृतिको परिवेशमा बसेर एउटा प्रेमकथा भनौँ भन्ने सोचबाट यो फिल्मको कथा प्रेरित भएको हो। समाजमा देखिएका केही घटनालाई आधार बनाएका छौँ। घरायसी कामदारको भिसामा दक्षिण कोरिया जाने महिला आप्रवासीहरूको कथालाई आधार बनाएर एउटा प्रेमकथा सिर्जना गरेका छौँ।
तपाईं मगर समुदायको कथामाथि फिल्म बनाइरहनुभएको छ। यसमा तपाईंका निजी भोगाइ पनि समावेश छन् ?
म मगरकै छोरा भए पनि बुटवलमा बाहुन समुदायमा हुर्किएको हुँ। दक्षिण कोरियाबाट फर्किएपछि मैले हेर्ने र देख्ने फिल्महरू भारतीय शैलीका थिए। तिनमा हाम्रो संस्कृति थिएन। हुन त भारतीय शैलीका गीतहरू हुन्थे।
मलाई के लाग्यो भने हाम्रो देशमा जातजातिको यति धेरै विविधता छ कि सबैजना एकअर्कासँग मिलेर बसिरहेका छन्। एकअर्काप्रति सम्मान पनि उत्तिकै छ। नेपाली फिल्मको प्रतिनिधित्वका हिसाबले त्यो संस्कृति हाम्रो ठूलो सम्पत्ति हो जस्तो लाग्यो। त्यसैले पनि हाम्रो आफ्नै संस्कृतिलाई समेटेर फिल्म बनाउनुपर्छ भन्ने सोच आयो।
सबै फिल्म मगर समुदायकै कथामा बनाउनुपर्छ वा बन्नुपर्छ भन्ने होइन। पछि अरू समुदायका कथामा पनि फिल्म बनाउन सकिएला। तर, हाम्रो आफ्नै एउटा रङ चाहिँ दिनुपर्छ भन्ने लाग्छ। यो हाम्रै माटो, भूगोल र संस्कृतिको रङ हो।

गैरमगर समुदायका दर्शक ‘जलाकी’सँग कसरी जोडिएलान् ?
यो मगर संस्कृति बोकेको फिल्म भए पनि मगर फिल्म मात्र होइन। यो नेपाली फिल्म हो। कुनै एउटा ठाउँ, भूगोल र रीतिरिवाजमा गएपछि त्यहाँको मौलिकता आउनैपर्छ। म्याग्दीमा गएर फिल्म खिचेपछि त्यहाँ मगर समुदायको परिवेश आउने भयो। रोल्पा र रुकुम भनेपछि प्रायः मगर समुदायको बसोबास भएको ठाउँ हुन सक्छ। हामीले जुन ठाउँलाई आधार बनाउँछौँ, त्यहाँको भूगोल र संस्कृतिअनुसार कथा प्रस्तुत गरेका हौँ।
हामीबीच जातजातिका आधारमा राम्रो सम्बन्ध छ। एउटाको पोसाक अर्काले लगाएर नाचिरहेको हुन्छ। एकअर्काका संस्कृति र परम्परालाई अपनाइरहेका हुन्छौँ। राजनीतिले विभाजन गर्न खोज्छ, संस्कृतिले जोड्न खोज्छ। हामीले संस्कृतिमार्फत जोड्ने प्रयास गरेका छौँ। कतै न कतै गुरुङ र मगर संस्कृतिलाई पनि जोडेका छौँ। गैरमगर समुदायका दर्शकले पनि हामीलाई माया गर्नुहुन्छ भन्ने लाग्छ।
‘खुश्मा’पछि लगत्तै ‘जलाकी’मा पनि सांस्कृतिक परिवेशलाई आधार बनाएर फिल्म बनाउनुभयो। किन अरू विधा र शैलीमा काम नगर्नुभएको ?
‘खुश्मा’भन्दा यो फिल्म केही भिन्न छ। ‘खुश्मा’का लागि रुकुम-रोल्पा रोज्नुको कारण त्यतिबेला द्वन्द्वको कथा भन्नु थियो। द्वन्द्वबाट सबैभन्दा धेरै प्रभावित ठाउँ रुकुम–रोल्पा नै थिए। त्यसमा पनि मगर समुदाय बढी प्रभावित थियो। त्यही समुदायको कथालाई लिएर फिल्म बनाएको हुँ।
म मगर भएकै कारणले पनि यस्तो भएको हुन सक्छ। सायद, म गुरुङ भएको भए पनि ‘खुश्मा’ बनाउँथें होला, तर मगर समुदायकै कथा भन्थें कि ! कथाले नै त्यसलाई अगुवाइ गरेको हुन्छ।
अहिले ‘जलाकी’का लागि रोल्पा किन गयौँ भने यसमा भेडीगोठालाको कथा छ। फिल्ममा रोल्पाको सीमित भूभाग मात्र समेटिएको छ। यसमा २० वर्षअघिको गण्डक क्षेत्रको कथा भनेका छौँ।
‘खुश्मा’भन्दा ‘जलाकी’को दृश्यात्मक गुणस्तर फरक छ। यसमा छायांकन र अभिनय उत्कृष्ट छ। कथा दुवैमा भए पनि प्रस्तुति फरक छ। हामी वैदेशिक रोजगारीबाट अछुतो छैनौँ। त्यसको कथा पनि यसमा जोडिएको छ।
यो फिल्म किन हेर्ने ?
यो भावनात्मक प्रेमकथा हो। यसमा कलेज जीवनको नोस्टाल्जिया पनि भेट्न सकिन्छ। चार जनाबीचको एकअर्कासँग जोडिएको प्रेमकथा यसमा छ। यसमार्फत हामीले एउटा सन्देश पनि दिएका छौँ।
घरेलु हिंसाबाट पीडित भएर गर्भवती अवस्थामै नेपाल फर्किनुपर्ने महिलालाई आफ्नै श्रीमान् र समाजले स्वीकार गर्दैनन्। यस्तो अवस्थामा उनी जाने ठाउँ कहाँ हुन्छ ? उनको आफ्नो ठाउँ कहाँ हुन्छ ? त्यस्तो परिस्थितिले एउटा निर्दोष बच्चाको मनोविज्ञानमा कस्तो असर पार्छ ? यिनै समस्याबाट प्रभावित एक महिलाको कथा पनि यसमा छ।
‘खुश्मा’भन्दा ‘जलाकी’मा धेरै फरक आयाम छन्।
तपाईं कथा भन्न कथानक फिल्म (फिचर) वा वृत्तचित्र (डकुमेन्ट्री)मध्ये कुन विधा रोज्नुहुन्छ ?
‘कोरियन ड्रीम’ वृत्तचित्र बनाउन मैले आठ वर्ष लगाएँ। त्यसले अन्तर्राष्ट्रिय पुरस्कार पनि पायो। वृत्तचित्र बनाउन निकै कठिन हुन्छ। यथार्थको धरातलमा रहेर काम गर्नुपर्छ। कथा नै नभएको कुरामा पनि कथा खोज्नुपर्छ।
फिल्ममा भने हामी धेरै स्वतन्त्र हुन्छौँ। यसमा गहिराइ हुन्छ। कति गहिराइसम्म पुग्न सकिन्छ भन्ने स्वतन्त्रता हुन्छ। आफ्नै कल्पनाको प्रयोग गर्न सकिन्छ। त्यसैले वृत्तचित्र बनाउँदा फिल्ममा जस्तो प्रभावकारी रूपमा कथा भन्न नसकिने अवस्था पनि हुन सक्छ। फिचर फिल्मको माध्यमबाट कथा भन्न धेरै सहज हुन सक्छ।