काठमाडौं । फिल्म ‘फ्रेन्च किस’ले टिजर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको छ । जसअनुसार, यो फिल्म १ माघदेखि देशब्यापी प्रदर्शनमा आउने जनाइएको छ ।
माघे सक्रान्तिको अवसर पारेर फिल्म हलमा आउन लागेको हो । सार्वजनिक टिजरमा एक युगल जोडी छ , जो काठमाडौंका सुन्दर ठाउँदेखि तालसम्म हात समाएर घुम्छ । प्रेमका बारे आ-आफ्ना धारणा राख्छ । प्रेम आधुनिक समयमा मिथमा परिणत भइसकेको बताउँछ ।
केटा र केटी नै एकअर्काप्रति आकर्षित छन् । एकान्तमा बसेर चुम्बन गर्छन् र, होटेलमा पसेर जवानी साट्छन् । त्यसपछि केही चर्को स्वरमा बोलेको सुनिन्छ, यसले उनीहरूको सम्बन्धमा चिसोपना आएको अनुमान लगाउन सकिन्छ ।
यसले आधुनिक प्रेममा देखिने गरेको क्षणिकता र आकर्षणलाई संकेत गरेको छ । टिजरमा अर्पण थापा र थिन्ले ल्हामो मात्रै छन् । उनीहरुको रोमान्सको वरिपरि टिजर घुमेको छ ।
अर्पण थापाले निर्देशन गरेको फिल्ममा अर्पण र थिन्ले ल्हामोसँगै रेखा थापा, गौरी मल्ल, आयशा तामाङलगायत कलाकारको अभिनय छ । ‘फ्रेन्च किस’मार्फत नयाँ पुस्ताको प्रेमकथामा फरक ढंगले प्रस्तुत हुने निर्देशक थापाले यसअघि नै बताइसकेका छन् ।
निर्माण टिमले ‘फ्रेन्च किस’लाई नयाँ पुस्ताको स्वाद अनुसारको चलचित्र भनेको छ । दर्शकले आधुनिक प्रेमकथाको अनुभूत यो चलचित्रमार्फत गर्न पाउने निर्देशक अर्पणले बताएका छन् ।
एटीएफ प्रोडक्सन प्रालिको ब्यानरमा निर्माण हुने फिल्मलाई अभिनेता समेत रहेका अर्पण थापाले निर्देशन गरेका छन् । कार्यकारी निर्मातामा सौगात बस्नेत र सह–निर्मातामा सुभाष बी. शाही छन् । सुदीप बरालले फिल्म छायांकन गरेका छन् ।