काठमाडौं । अमेरिकी कङ्ग्रेसका दुवै सदनमा बहुमत कायम गर्ने प्रतिस्पर्धाबीच मतदाताले मङ्गलबार मध्यावधि निर्वाचनमा मतदान गर्दैछन् ।
अमेरिकाको राज्य विधानसभा (हाउस अफ डेलिगेट्स) र राज्य प्रतिनिधिसभा (स्टेट रिप्रेजेन्टेटिभ) सदस्य बन्न नेपाली मूलका चार जना उम्मेदवार चुनावी मैदानमा छन् ।
मध्यावधि निर्वाचनसँगै नोभेम्बर ३ (अमेरिकी समयानुसार मंगलबार) मा हुने हाउस अफ डेलिगेट्स र स्टेट रिप्रेजेन्टेटिभ्सका लागि छुट्टाछुट्टै राज्यका निर्वाचन क्षेत्रबाट नेपाली मूलका चारजना प्रतिस्पर्धामा उत्रिएका हुन् ।
हाउस अफ डेलिगेट्सका लागि मेरिल्यान्ड राज्यमा ह्यारी भण्डारी र सतीश चापागाईं, न्यु ह्याम्पसायरमा स्टेट रिप्रेजेन्टेटिभ्सका लागि विश्वबहादुर शाह र न्युयोर्क राज्यको डिस्ट्रिक्ट ‘१०३’ बाट विधानसभा सदस्यका लागि सराहना श्रेष्ठ चुनावी मैदानमा उत्रिएका छन् ।
भण्डारी र चापागाईं दुवै डेमोक्रेटिक पार्टीबाट उम्मेदवार बनेका हुन् । भण्डारी मेरिल्यान्डको डिस्ट्रिक्ट ‘८’ र चापागाईं ‘७ ए’ को हाउस अफ डेलिगेट्समा प्रतिस्पर्धा गर्न गत जुन २३ मा भएको डेमोक्रेटिक पार्टीको प्राइमरी इलेक्सनबाट चुनिएका थिए ।
मेरिल्यान्ड राज्यमा दुई जना हाउस अफ डेलिगेट्सका लागि उम्मेदवार बनेसँगै न्यु ह्याम्पसायर राज्यको हिल्सबरो काउन्टीको डिस्ट्रिक्ट ‘४१’ बाट विश्वबहादुर शाह स्टेट रिप्रेजेन्टेटिभ्सका लागि उम्मेदवार बनेका छन् ।
अमेरिकाको राज्य व्यवस्थापिका संसदमा विधानसभा र प्रतिनिधिसभा छुट्टाछुट्टै गठन गरिएका हुन्छन् । विधानसभामा निर्वाचित हुने सदस्यलाई हाउस अफ डेलिगेट्स र राज्य प्रतिनिधिसभामा निर्वाचित हुने सदस्यलाई स्टेट रिप्रेजेन्टेटिभ्स भनिन्छ ।
उनी पहिलो पटक स्टेट रिप्रेजेन्टेटिभ्सका लागि उम्मेदवार बनेका हुन् ।
सराहना श्रेष्ठ दोस्रो कार्यकालका डेमोक्रेटिक पार्टीबाट उम्मेदवार बनेकी हुन् ।
उनले यसअघि २०२२ मा न्युयोर्कको डिस्ट्रिक्ट ‘१०३’ बाटै चुनाव जितेकी थिइन् । सन् २००१ मा विद्यार्थीका रूपमा अमेरिका आएकी उनी अमेरिकाको विधानसभा सदस्य बन्ने पहिलो नेपाली महिला हुन् ।
करिब ३३ करोड जनसंख्या भएको अमेरिकामा २१ करोड मतदाता छन् । सन् २०२४ सम्मको तथ्यांकअनुसार अमेरिकामा १ लाख नेपाली मतदान गर्न योग्य छन् ।