काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपिन आचार्यको नेतृत्वमा २० सदस्यीय सांसदको टोली चीन भ्रमणमा जाने भएको छ।
चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा सांसदको टोली कात्तिक २९ गते चीनतर्फ प्रस्थान गर्नेछ। १० दिनसम्म चीनका विभिन्न सहरको स्थलगत अवलोकन गर्ने र केही कार्यक्रममा सहभागी हुने सो पार्टीका नेताहरुले जानकारी दिए।
चीन जाने टोलीमा महामन्त्री आचार्यसहित सांसदहरू लिमा अधिकारी, समीक्षा बास्तोला, हरि ढकाल, सागर ढकालको नाम निश्चित भइसकेको छ। यतिबेला भ्रमणमा जान चाहने सांसदहरूको सूची बनिरहेको जनाइएको छ ।
आचार्यले रास्वपा सांसद रहेको ह्वाट्सएप ग्रुपमा पनि सन्देश छोडेका छन्।
‘चीन भ्रमणमा जान चाहने इच्छुक साथीले नाम टिपाउनुहोला,’ एक सांसदले उक्त सन्देश उधृत गरेका छन् । टोलीमा सत्तारुढ दल रास्वपाका सांसद मात्र रहने छन्।
‘चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा १८ देखि २० जनाको टोली १० दिने भ्रमणका लागि जान लागेको हो,’ एक सांसदले भने, ‘केही नामको टुंगो लागे पनि सबैको निश्चित भइसकेको छैन। महामन्त्रीज्यूले प्रत्येक सांसदलाई सोध्नुभएको छ।’
भ्रमणमा रहँदा हुनसक्ने राजनीतिक भेटवार्ताबारे केही खुलाइएको छैन। भदौ पहिलो साता रास्वपा सभापति रवि लामिछाने चीन भ्रमणमा जाने तयारी थियो। यद्यपि, त्यो रोकिएको थियो।