पोखरा । कास्कीका ऐतिहासिक पाँच कोटलाई समेटेर आइतबार आयोजना गरिएको ‘पोखरा पाँचकोट ५० किमी अल्ट्रा ट्रेल रेस–२०८३’अन्तर्गत पुरुषतर्फको उपाधि मनकुमार रोका मगरले हात पारेका छन् ।
निर्धारित ५० किमीको दूरी पाँच घण्टा २१ मिनेट ५४ सेकेण्डमा पूरा गर्दै उनले उपाधि हासिल गरेको आयोजक नेपाल भूतपूर्व खेलाडी मञ्च, पोखराले जनाएको छ ।
पचास किमी महिलातर्फ कल्पना बुढाले उपाधि जितिन् । उनले निर्धारित दूरी सात घण्टा १७ मिनेट २४ सेकेण्डमा पूरा गरिन् ।
त्यस्तै, १६ किमी पुरुषतर्फ एक घण्टा सात मिनेट ५३ सेकेण्डमा निर्धारित दूरी पार गरी धीरोजबहादुर बुढाले उपाधि जिते ।
सोह्र किलोमिटर महिलातर्फ दीपा बस्नेतले पहिलो स्थान प्राप्त गरिन् । उनले एक घण्टा ३० मिनेट चार सेकेन्डमा निर्धारित दूरी पार गरिन् ।
पचास किमीतर्फ पहिलो हुने पुरुष तथा महिला धावकले जनही रु एक लाख ५० हजार, दोस्रो हुनेले रु एक लाख, तेस्रो हुनेले रु ७५ हजार, चौथो हुनेले रु २५ हजार र पाँचौँ स्थान हासिल गर्नेले रु १५ हजारसहित पदक र प्रमाणपत्र प्राप्त गरेका थिए ।
१६ किमीतर्फ पहिलो हुनेले रु २५ हजार, दोस्रो हुनेले रु १५ हजार, तेस्रो हुनेले रु १० हजार र चौथो हुनेले रु पाँच हजारसहित पदक र प्रमाणपत्र प्राप्त गरेका थिए ।
पुरुष र महिला दुवै विधातर्फ समान पुरस्कार राशि प्रदान गरिएको हो । प्रतियोगिताका विजेता धावकहरूलाई नेपाली सेनाका पश्चिम पृतनापति उपरथी भोलानाथ थापा, कीर्तिमानी धावक वैकुण्ठ मानन्धर, नेपाल भूतपूर्व खेलाडी मञ्च, पोखराका अध्यक्ष दिलबहादुर गुरुङलगायतले नगद पुरस्कार, पदक र प्रमाणपत्र प्रदान गरेका थिए ।