Paywear Banner Desktop
Paywear Banner Desktop

बेलायतको विद्यार्थी भिसामा अन्तर्वार्ता दिएका ९२ प्रतिशत नेपाली विद्यार्थी अस्वीकृत

काठमाडौं । बेलायतमा अध्ययनका लागि विद्यार्थी भिसा आवेदन दिएका नेपालीमध्ये अन्तर्वार्तामा सहभागी भएका ९२ प्रतिशत विद्यार्थीको आवेदन अस्वीकृत भएको पाइएको छ।

बेलायतको गृह मन्त्रालयअन्तर्गतको यूके भिसा एन्ड इमिग्रेसन (यूकेभीआई) ले सार्वजनिक गरेको तथ्यांकअनुसार मेदेखि अक्टोबर २०२६ सम्म अन्तर्वार्ता दिएकामध्ये अधिकांश नेपाली विद्यार्थीलाई अध्ययनका लागि वास्तविक आवेदक नभएको ठहर गरिएको हो।

द पाई न्युजले प्राप्त गरेको यूकेभीआईको क्षेत्रगत अध्ययनसम्बन्धी विवरणअनुसार उक्त छ महिनाको अवधिमा कुल ११ हजार ४१५ जना विद्यार्थीको विश्वसनीयता परीक्षणसम्बन्धी अन्तर्वार्ता लिइएको थियो। तीमध्ये ९ हजार ४३ जनालाई यूकेभीआईका अधिकारीले विश्वसनीय नभएको ठहर गरेका थिए। यो कुल अन्तर्वार्तामा सहभागीको करिब ७९ प्रतिशत हो।

अन्तर्वार्तापछि भिसा अस्वीकृत हुनेमा नेपाली विद्यार्थी सबैभन्दा अगाडि देखिएका छन्। तथ्यांकअनुसार अन्तर्वार्ता दिएका नेपालीमध्ये ९२ प्रतिशतको आवेदन अस्वीकृत भएको छ।

त्यसपछि भारतका ८९ प्रतिशत, नाइजेरियाका ८४ प्रतिशत, बंगलादेश र श्रीलंकाका समान ७९ प्रतिशत तथा पाकिस्तानका ७३ प्रतिशत विद्यार्थीको आवेदन अस्वीकृत भएको विवरणमा उल्लेख छ।

भिसा अस्वीकृत हुनुका मुख्य कारण

यूकेभीआईका अनुसार मेदेखि अक्टोबर २०२६ सम्म विश्वसनीयताको आधारमा विद्यार्थी भिसा अस्वीकृत हुनुका प्रमुख कारणमा आफूले अध्ययन गर्न चाहेको शैक्षिक संस्थाबारे पर्याप्त जानकारी नहुनु रहेको छ।

त्यस्तै, बेलायतमै अध्ययन गर्न चाहनुको कारण स्पष्ट पार्न नसक्नु, रोजेको विश्वविद्यालय र अध्ययन कार्यक्रम आफ्नो भविष्यको योजनासँग कसरी मेल खान्छ भन्ने व्याख्या गर्न नसक्नु पनि अस्वीकृतिका कारण बनेका छन्।

आवेदकले छनोट गरेको विषय वा अध्ययन कार्यक्रमबारे पर्याप्त जानकारी नहुनु, अंग्रेजी भाषामा सञ्चार गर्न सक्ने क्षमतामा प्रश्न उठ्नु र अध्ययनका लागि देखाइएको आर्थिक स्रोत विश्वसनीय नहुनु पनि भिसा अस्वीकृतिका अन्य कारण हुन्।

द पाई न्युजले संकलन गरेका केही अस्वीकृतिका उदाहरणमा विद्यार्थीले आफ्नो विश्वविद्यालयको परिसरमा कति वटा रूख छन् वा नजिकैको बस बिसौनी कहाँ छ भन्ने जानकारी दिन नसकेको विषयसमेत उल्लेख गरिएको छ।

विद्यार्थी संख्या सीमित गर्ने उद्देश्य नभएको बेलायती अधिकारीको भनाइ

बेलायतको गृह मन्त्रालयका कार्य, अध्ययन, परिवार तथा युक्रेन सेवा प्रमुख ओलिभर रेले अन्तर्राष्ट्रिय विद्यार्थी भर्नासम्बन्धी यूके युनिभर्सिटिज इन्टरनेसनल (यूकेयूकेआई) को सम्मेलनमा बोल्दै कडा भिसा जाँचको उद्देश्य बेलायत आउने अन्तर्राष्ट्रिय विद्यार्थीको संख्या नियन्त्रण गर्नु नभएको बताएका छन्।

‘हामी बेलायत आउने विद्यार्थीको संख्यामा कुनै सीमा तोक्न चाहँदैनौँ। हाम्रो मुख्य ध्यान वास्तविक विद्यार्थीको पहिचानमा छ,’ उनले भने।

उनले भिसा निर्णयका क्रममा सधैँ सही निर्णय नहुने स्वीकार गर्दै अन्तर्वार्तामा बोलाइने विद्यार्थीको संख्या भने वर्षैपिच्छे घटिरहेको बताए। उनका अनुसार जोखिमको पहिचान र मूल्यांकन गर्ने प्रणालीमा सुधार आएकाले अन्तर्वार्ताको संख्या घटेको हो।

‘यो केसवर्करलाई जोखिमको विस्तृत मूल्यांकन गर्न र सबै आवेदकलाई एउटै दृष्टिकोणबाट हेर्नुको सट्टा विशेष अवस्थाका आधारमा निर्णय गर्न सक्षम बनाएकाले सम्भव भएको हो,’ उनले भने।

रेका अनुसार गर्मीयामको अवधिमा करिब ६ हजार विद्यार्थीको अन्तर्वार्ता लिइएको थियो। जोखिमका आधारमा बढी शंका लागेका आवेदकलाई पहिचान गर्न सक्ने क्षमता बढेकाले अन्तर्वार्तापछि भिसा अस्वीकृति दर उच्च देखिएको उनको भनाइ थियो।

शरणार्थी दाबी पनि बेलायतको चासोमा

अन्तर्राष्ट्रिय विद्यार्थीले बेलायत पुगेपछि शरणार्थीको मान्यता माग्ने प्रवृत्ति पनि विद्यार्थी भिसा अस्वीकृतिसम्बन्धी बहसको प्रमुख विषय बनेको छ।

यूकेभीआईको विवरणअनुसार विद्यार्थी भिसामा बेलायत पुगेपछि शरणार्थीको मान्यता माग्ने सम्भावना सबैभन्दा बढी पाकिस्तानी विद्यार्थीमा देखिएको छ। त्यसपछि भारत, बंगलादेश र नाइजेरियाका विद्यार्थी रहेका छन्।

द पाई न्युजले बेलायतका प्रमुख विद्यार्थी स्रोत मुलुकबाट हुने शरणार्थी दाबीको दरबारे पनि विश्लेषण गरेको जनाएको छ।

शरणार्थी दाबीसम्बन्धी चिन्ताका कारण बेलायतले अफगानिस्तान, क्यामरुन, सुडान र म्यानमारका नागरिकका लागि विद्यार्थी भिसामा रोक लगाउने निर्णयसमेत गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

खुशी ०
दुखी ०
अचम्म ०
क्रोधित ०
माया ०

प्रतिक्रिया

Paywear Banner Desktop
Paywear Banner Desktop
×

रोमनमा लेख्नुहोस् (Type in Romanized Nepali)

LIVE

नेपाली युनिकोड (Devanagari Unicode)

पाठ सफलतापूर्वक प्रतिलिपि गरियो!