काठमाडौं । फिल्म ‘३६ को आँकडा’ को नयाँ गीत ‘बहुलाउँछु कि क्या हो’ युट्युबमा सार्वजनिक भएको छ । दशैंको पहिलो दिन घटस्थापनाको अवसर पारेर गीत सार्वजनिक गरिएको हो ।
सत्यराज आचार्य र अञ्जु पन्तको स्वर रहेको गीतमा सुरेश अधिकारीको शब्द तथा संगीत छ। प्रेममा परेपछि मनमा उब्जिने बेचैनी, आकर्षण र प्रिय व्यक्तिको सम्झनाले निम्त्याउने छटपटीलाई गीतमा व्यक्त गरिएको छ। प्रेममा डुबेका पात्रहरूको मनोभाव गीतले समेटछ।
भिडियोमा दुई जोडीको प्रेमलाई प्रस्तुत गरिएको छ। एकातिर रेखा थापा र महेश त्रिपाठीको प्रेमिल सम्बन्ध देखाइएको छ भने अर्कातिर पूजा शर्मा र पुष्प खड्काको प्रेमकथा अघि बढ्छ।
गीतका शब्दसँगै दुवै जोडीका प्रेमिल दृश्य पालैपालो आउँछन्। रेखा र महेश एकअर्काप्रतिको आकर्षणमा रमाइरहँदा पूजा र पुष्प पनि प्रेमको आफ्नै संसारमा हराएका देखिन्छन्। कोरियोग्राफर राजु शाह हुन्।
यो फिल्म सवीर श्रेष्ठको निर्देशनमा बनेको हो। फिल्ममा रेखा थापा, निरूता सिंह, पूजा शर्मा, महेश त्रिपाठी, पुष्प खड्का, सुवर्ण थापा र रमेशचन्द सिडारीलगायतको अभिनय छ। रेखा फिल्म्स र काइट्स इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको फिल्मको निर्माता सरस्वती थापा, दुर्गा सापकोटा र गीता श्रेष्ठ हुन्।