काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२७ को अक्सनका लागि १० नेपाली खेलाडीले नाम दर्ता गराएका छन् । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले बुधबार सार्वजनिक गरेको अक्सन रजिस्टरअनुसार नेपालबाट १० खेलाडीले अक्सनका लागि नाम दर्ता गराएका हुन् ।
अक्सनका लागि १२ सय २० खेलाडीले नाम दर्ता गराएका छन् । दर्ता गराउनेमा अस्ट्रेलियाका सर्वाधिक ५३ खेलाडी छन् । त्यसपछि दक्षिण अफ्रिकाका ४० खेलाडीले नाम दर्ता गराएका छन् ।
यस्तै अमेरिका (यूएसए) का १३, यूएई र नेपालका समान १० तथा जापानका दुई खेलाडीले पनि आईपीएल अक्सनका लागि नाम दर्ता गराएका बीसीसीआईले जनाएको छ । वेस्ट इन्डिजका ३६, न्युजिल्यान्डका २५ र अफगानिस्तानका २३ खेलाडीले पनि अक्सनमा सहभागिता जनाउनेछन् ।
बीसीसीआईका अनुसार अक्सनअघि नै फ्रेन्चाइजहरूले १८४ खेलाडीलाई रिटेन वा छनोट गरिसकेका छन् । अब बढीमा ६६ खेलाडीका लागि मात्र स्थान खाली छ । त्यसमध्ये २५ स्थान विदेशी खेलाडीका लागि उपलब्ध छन् ।
बीसीसीआईले जारी गरेको विज्ञप्तिअनुसार दर्ता भएका खेलाडीमध्ये १८४ जना अन्तर्राष्ट्रिय खेल खेलेका ९क्याप्ड०, ९९४ जना अन्तर्राष्ट्रिय खेल नखेलेका ९अनक्याप्ड० र ४२ जना एसोसिएट राष्ट्रका खेलाडी छन् । अनक्याप्ड खेलाडीमध्ये ९२५ जना भारतीय छन् । तीमध्ये १२७ जनाले यसअघि आईपीएल खेलिसकेका छन् ।
बीसीसीआईका अनुसार अब फ्रेन्चाइज टोलीहरूले अक्सनका लागि दर्ता भएका खेलाडीमध्ये आफूले अन्तिम सूचीमा समावेश गर्न चाहेका खेलाडीको नाम सिफारिस गर्नेछन् । खेलाडीहरूको अन्तिम सूची र उनीहरूलाई विभिन्न समूहमा विभाजन गरिएको विवरण आगामी ४ डिसेम्बरमा सार्वजनिक गरिने बीसीसीआईले जनाएको छ ।