३१ साउन, काठमाडौं । अस्ट्रेलियाको नर्थन टेरिटोरीमा हुने टप एन्ड टी-२० सिरिज खेल्न जाने नेपाल ए टोलीको बिदाइ गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार एक कार्यक्रम गरी टोलीको बिदाइ गरेको हो ।
क्यानका उपाध्यक्ष रोशन सिंहलगायतले नेपाली टोलीलाई बिदाइ गरे । उनले टोलीलाई राम्रो प्रदर्शन गर्दै जितको शुभकामना दिए ।
प्रतियोगिताका लागि अनिल साहको कप्तानीमा नेपालको १५ सदस्यीय टोली घोषणा भइसकेको छ । नेपालको ओडीआई टोलीमा समावेश नगरिएका ओपनिङ ब्याटर कुशल भुर्तेल टप एन्ड खेल्ने टोलीमा समावेश छन् ।
अगस्ट २१ देखि ३० सम्म डार्विनमा हुने प्रतियोगितामा नेपालले लिग चरणमा ६ खेल खेल्नेछ । नेपालले पहिलो खेलमा अगस्ट २१ मा एनटी स्ट्राइकसँग प्रतिस्पर्धा गर्नेछ ।
नेपालले दोस्रो खेल अगस्ट २२ मा बंगलादेश हाई-परफर्मेन्स टोलीसँग खेल्नेछ । त्यसपछि अगस्ट २४ मा होबार्ट हरिकेन्स एकेडेमी, अगस्ट २६ मा एसीटी कोमेट्स, अगस्ट २७ मा किङ्समेन र अगस्ट २९ मा भिक्टोरियासँग प्रतिस्पर्धा गर्ने तालिका छ ।

नेपालले गत संस्करणमा पनि प्रतियोगितामा सहभागिता जनाएको थियो । त्यसबेला नेपालले ६ खेल खेल्दा दुई खेल जितेको थियो भने चार खेलमा पराजित भएको थियो ।
नेपालको टोली : अनिल साह (कप्तान), कुशल भुर्तेल, लोकेश बम, तृतराज दास, मयन यादव, पवन सर्राफ, दीपक डुम्रे, कुशल मल्ल, राशिद खान, नारायण जोशी, आकाश चन्द, शाहब आलम, बिपिन खत्री, युवराज खत्री, रिजन ढकाल
नेपालको खेल तालिका :
अगस्ट २१ – एनटी स्ट्राइक विरुद्ध नेपाल
अगस्ट २२ – नेपाल विरुद्ध बंगलादेश हाई–परफर्मेन्स
अगस्ट २४ – नेपाल विरुद्ध हरिकेन्स
अगस्ट २६ – नेपाल विरुद्ध एसीटी कमेट्स
अगस्ट २७ – नेपाल विरुद्ध किङ्समेन
अगस्ट २९ – नेपाल विरुद्ध भिक्टोरिया