Paywear Banner Desktop
Paywear Banner Desktop

जाजरकोटमा पहिरो : चार जनाको मृत्यु, सडक अवरुद्ध, बस्ती जोखिममा

जाजरकोट । शनिबार बेलुका भेरी नगरपालिका-२ रिसाङमा पहिरोमा परेर वेपत्ता भएका तीन जनाको शव फेला परेको छ भने एक जना उपचारकै क्रममा मृत्यु भएको छ ।

मृत्यु हुनेहरुमा भेरी नगरपालिका-२ चिसापानीका ७० वर्षीय भीमबहादुर कार्की र सोही वडाकी करिब ८७ वर्षीया रती खत्री, उनका छोरा ५४ वर्षीय उमासिंह खत्री छन् ।

त्यस्तै, भेरी नगरपालिका-२ का करिब ५२ वर्षीय केदार कार्कीको उपचारका क्रममा मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको जाजरकोटका प्रहरी नायब उपरीक्षक (डीएसपी) बुद्धीसागर पुरीले जानकारी दिए ।

पहिरोमा परी ६ जना घाइते भएका छन् । प्रभावित क्षेत्रका २०० भन्दा बढी नागरिकलाई सुरक्षित स्थानमा सारिएको छ । २०८३ साउन ३० गते दिउँसो करिब ४ बजेदेखि परेको अविरल वर्षाका कारण भेरी नगरपालिका-२ रिसाङलगायत आसपासका विभिन्न स्थानमा पहिरो गएको हो। पहिरोले घर तथा टहरा भत्काउनुका साथै केही परिवार विस्थापित भएका छन्।

यस्तै, भेरी नगरपालिका-२ रिसाङका ६० वर्षीय रामबहादुर शाही गम्भीर घाइते भएका छन्। आरनमा काम गरिरहेको अवस्थामा माथिबाट पहिरो खस्दा उनको छाती, टाउको र हातमा चोट लागेको थियो। जिल्ला अस्पताल जाजरकोटमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि नेपालगञ्ज हुँदै मेडिकल कलेज कोहलपुर लगिएको छ।

आरन सञ्चालक ४५ वर्षीय सिद्धिबहादुर कामीको ढाडमा चोट लागेको छ । जिल्ला अस्पताल जाजरकोटमा उपचारपछि साउन ३१ गते बिहान ७ः१५ बजे थप उपचारका लागि मेडिकल कलेज कोहलपुर रिफर गरिएको छ ।

भेरी नगरपालिका-२ चिसापानीकी ५७ वर्षीया भद्राकली कार्की पनि शरीरका विभिन्न भागमा चोट लागेर गम्भीर घाइते भएकी छन्। उनलाई जिल्ला अस्पताल जाजरकोटमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि मेडिकल कलेज कोहलपुर रिफर गरिएको छ।

यसैगरी, भेरी नगरपालिका–१ डौरीकाँडाका ४५ वर्षीय मनवीर चदरा टाउकोमा चोट लागेर घाइते भएका छन्। उनको स्थानीय मेडिकलमा उपचार भइरहेको छ। सोही स्थानका १६ वर्षीया मनिषा विक र ४७ वर्षीया मोतीकला विक पनि घाइते भएका छन्।

तीन जना डिस्चार्ज

पहिरोमा परी घाइते भएका भेरी नगरपालिका-२ का करिब २३ वर्षीया अनिता कार्की, १० वर्षीय युनिश शाही र ४५ वर्षीया सुन्तली चदराको जिल्ला अस्पताल जाजरकोटमा उपचारपछि साउन ३० गते राति १२ बजे डिस्चार्ज गरिएको छ ।

घर तथा टहरा पूर्ण रूपमा क्षति

पहिरोले भेरी नगरपालिका-३ स्यालाका पूर्णबहादुर विकको ६ कोठे दुईतले ढुंगा-माटोले बनेको कच्ची घर पूर्ण रूपमा क्षति भएको छ । घरमा रहेका पाँच जनाको परिवार आफन्तको घरमा आश्रय लिएर बसेका छन् । सोही स्थानका भैरवी केसीका दुईवटा टिनका अस्थायी टहरा पनि पूर्ण रूपमा भत्किएका छन्। ती टहरामा भने हाल मानिस नरहेको बताइएको छ।

जोखिमका बीच सुरक्षाकर्मीको उद्धार

पहिरोका कारण विभिन्न स्थानमा सडक तथा बाटो अवरुद्ध भएपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली पैदलमार्फत जोखिमपूर्ण क्षेत्रमा पुगेर बेपत्ताको खोजी, घाइतेको उद्धार तथा प्रभावित नागरिकलाई सुरक्षित स्थानमा सार्ने काममा परिचालित भएका छन्।

अविरल वर्षा अझै जारी रहेकाले प्रभावित क्षेत्रमा थप पहिरोको जोखिम कायमै रहेको छ। सुरक्षाकर्मी तथा स्थानीय तहले प्रभावित क्षेत्रका नागरिकलाई सुरक्षित स्थानमा रहन र आवश्यक सावधानी अपनाउन आग्रह गरेका छन्।

चार जनाको ज्यान जाने गरी आएको बाढी पहिरोका कारण उच्च जोखिममा रहेका जाजरकोटको भेरी नगरपालिका-२ रिसाङ क्षेत्रका स्थानीयवासीलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ।

रिसाङ क्षेत्रका करिब ६०/७० घरपरिवारका १५०/२०० जनालाई त्रिभुवन आधारभूत विद्यालयको भवनमा सुरक्षित रूपमा राख्ने व्यवस्था गरिएको छ। जोखिममा रहेका नागरिकहरूको सुरक्षा तथा उद्धारका लागि प्रसनि प्रेमबहादुर फौजाको कमाण्डमा १० जना प्रहरीको टोली परिचालन गरिएको छ।

उद्धार तथा सुरक्षित स्थानान्तरण गरिएकामध्ये झ्यालीखेत डाँडाबाट १६ जना, चिसापानीबाट २० जना, राउटेरे डाँडाबाट १५ जना र रिसाङ फारुलाबाट १४९ जना रहेका छन्।

यी क्षेत्रबाट गरी करिब २०० जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरी आवश्यक बासको व्यवस्था गरिएको प्रहरीले जनाएको छ।अविरल वर्षाका कारण पहिरोको जोखिम अझै कायमै रहेकाले स्थानीयवासीलाई सतर्क रहन र जोखिमयुक्त क्षेत्रमा नबस्न आग्रह गरिएको छ।

विपद्को समयमा नेपाल प्रहरी नागरिकको सुरक्षा, उद्धार तथा सहयोगका लागि निरन्तर परिचालित रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

खुशी
दुखी
अचम्म
क्रोधित
माया

प्रतिक्रिया

Paywear Banner Desktop
Paywear Banner Desktop
×

रोमनमा लेख्नुहोस् (Type in Romanized Nepali)

LIVE

नेपाली युनिकोड (Devanagari Unicode)

पाठ सफलतापूर्वक प्रतिलिपि गरियो!