ढाका । बंगलादेशमा राजनीतिक तनाव फेरि बढेको छ। प्रतिबन्धित अवामी लिगले नोभेम्बर २७ र २८ मा देशव्यापी बन्द आह्वान गरेको छ। पार्टीले राजनीतिक गतिविधिमाथिको प्रतिबन्ध हटाउन तथा पूर्वप्रधानमन्त्री शेख हसिना र अन्य नेताहरूमाथि लगाइएका मुद्दा फिर्ता लिन माग गरेको छ।
यो घोषणा हसिनाले आगामी डिसेम्बर १६ मा स्वदेश फर्किने आफ्नो योजना सार्वजनिक गरेपछि आएको हो। सन् २०२४ अगस्टमा ढाकाबाट भारत भागेपछि उनी भारतमै बस्दै आएकी छन्।
यसैबीच, सत्तारूढ बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) ले विदेशमा रहेका फरार अवामी लिगका नेता तथा कार्यकर्ताले देशमा हिंसा फैलाउन र अस्थिरता सिर्जना गर्न आर्थिक सहयोग पठाइरहेको आरोप लगाएको छ।
अवामी लिगले राजनीतिक स्वतन्त्रता, बन्दीहरूको रिहाइ, आर्थिक राहत र सार्वजनिक सुरक्षासँग सम्बन्धित आठबुँदे माग अघि सारेको छ।
पार्टीको बन्द आह्वानले यसअघि नै तनावपूर्ण रहेको राजनीतिक वातावरण थप संवेदनशील बनाएको छ। राजनीतिक कार्यकर्तामाथि आक्रमण, आगजनी र विभिन्न समूहबीच झडपका घटना भइरहेका विवरण सार्वजनिक भएका छन्। थप हिंसा हुन सक्ने आशंकाबीच सरकारले सीमा सुरक्षा बल बंगलादेश (बीजीबी) का अतिरिक्त सुरक्षाकर्मीसमेत परिचालन गरेको छ।
के छन् अवामी लिगका आठ माग ?
अवामी लिगको प्रमुख माग पार्टीका राजनीतिक गतिविधिमाथि लगाइएको प्रतिबन्ध हटाउनु र नियमित राजनीतिक गतिविधि सञ्चालन गर्न दिनु हो।
त्यस्तै, शेख हसिना र अन्य पार्टी नेताहरूमाथिका मुद्दा फिर्ता लिन, राजनीतिक प्रतिशोधबाट प्रेरित भन्दै पार्टीले व्याख्या गरेका अदालती फैसलाहरू रद्द गर्न तथा राजनीतिक बन्दीहरूलाई रिहा गर्न माग गरिएको छ।
पार्टीका बाँकी माग सर्वसाधारणले सामना गरिरहेका आर्थिक समस्यासँग सम्बन्धित छन्। विद्युत्, ग्यास, पानी, इन्धन, खाद्यान्न तथा अन्य अत्यावश्यक वस्तुको मूल्य घटाउन उसले माग गरेको छ।
बन्द गरिएका औद्योगिक प्रतिष्ठान पुनः सञ्चालन गर्न र रोजगारी गुमाएका श्रमिकलाई कामको अवसर उपलब्ध गराउनुपर्ने माग पनि अवामी लिगले अघि सारेको छ।
त्यस्तै, नागरिक, महिला, बालबालिका र अल्पसङ्ख्यक समुदायको सुरक्षाको प्रत्याभूति गर्न तथा हत्या, लुटपाट र जबर्जस्ती असुली नियन्त्रण गर्न माग गरिएको छ।
अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रताको सुनिश्चितता, पत्रकार तथा नागरिक अधिकारकर्मीमाथिका मुद्दा फिर्ता र ठगी तथा आतंकवादविरुद्ध कारबाही पनि पार्टीका मागमा समेटिएका छन्।
यी मागमार्फत अवामी लिगले बन्दलाई राजनीतिक प्रतिबन्धविरुद्धको विरोधका साथै देशको आर्थिक अवस्था र नागरिक स्वतन्त्रतासँग जोडिएको आन्दोलनका रूपमा प्रस्तुत गर्न खोजेको छ।
हसिनाको स्वदेश फर्किने योजनाबीच बीएनपीको विदेशी आर्थिक सहयोगको आरोप
बंगलादेशको राजनीतिक विवादमा आर्थिक सहयोगको विषय पनि जोडिएको छ।
नोभेम्बर २४ मा बीएनपीका कार्यवाहक महासचिव रुहुल कबिर रिज्वीले विदेशमा रहेका फरार अवामी लिगका नेता तथा कार्यकर्ताले बंगलादेशमा अस्थिरता सिर्जना गर्न रकम पठाइरहेको आरोप लगाएका थिए।
ढाकास्थित नेसनल प्रेस क्लबबाहिर आयोजित मानव साङ्लो कार्यक्रममा बोल्दै रिज्वीले उक्त रकम आगजनीका घटना गराउन र सवारीसाधन तथा विभिन्न प्रतिष्ठानमा आगो लगाउन मानिस परिचालन गर्न प्रयोग भइरहेको दाबी गरेका थिए।
उनका अनुसार किशोरकिशोरीलाई समेत यस्ता गतिविधिमा सहभागी गराउन रकम प्रयोग भइरहेको छ। कच्चा बम विस्फोट गराउने काममा पनि उक्त रकम खर्च भइरहेको उनको आरोप थियो।
तर बंगलादेशको सरकारी समाचार संस्था बीएसएसको रिपोर्टले ती रकमको स्रोत वा ओसारपसारबारे स्वतन्त्र रूपमा पुष्टि गरेको छैन। यी रिज्वीले लगाएका आरोप हुन्।
प्रधानमन्त्री तारिक रहमानका राजनीतिक सल्लाहकारसमेत रहेका रिज्वीले बंगलादेशको कानुनी प्रक्रियाको सामना गर्नुको सट्टा हसिनाले विदेशबाट हिंसा भड्काइरहेको आरोप लगाए।
उनले स्वदेश फर्किन राज्यसँग सहयोग मागेको हसिनाको मागमाथि पनि प्रश्न उठाए।
नोभेम्बरको मध्ययता भएका विभिन्न घटनामा कम्तीमा चार जनाको मृत्यु भएको विवरण सार्वजनिक भएपछि सरकारले राजनीतिक हिंसाको विषयमा थप दबाब सामना गरिरहेको छ।
डिसेम्बर १६ मा स्वदेश फर्किने हसिनाको घोषणा
हसिनाले सन् १९७१ को मुक्ति संग्राममा बंगलादेशले विजय प्राप्त गरेको दिन डिसेम्बर १६ मा स्वदेश फर्किने आफ्नो योजना सार्वजनिक गरेकी छन्।
उनका प्रवक्ताले रोयटर्सलाई बताएअनुसार हसिनाले दिल्लीबाट ढाका फर्किन राष्ट्रिय ध्वजावाहक विमान सेवा बिमान बंगलादेश एयरलाइन्सको उडान व्यवस्था मिलाइदिन सरकारसँग आग्रह गरेकी छन्।
तर ढाकाले उनको सामान्य रूपमा स्वदेश फर्किने सम्भावनालाई अस्वीकार गरेको छ। कनिष्ठ विदेशमन्त्री हुमायुन कबिरले उनी कैदीका रूपमा मात्रै फर्किन सक्ने बताएका छन्।
बंगलादेशले भारतसँग हसिनाको सुपुर्दगी मागिरहेको छ।
सन् २०२४ अगस्टमा विद्यार्थी नेतृत्वको आन्दोलनले १५ वर्ष लामो शासन अन्त्य गरेपछि हसिना बंगलादेश छाडेर भारत पुगेकी थिइन्।
प्रदर्शनकारीमाथि भएको दमनसँग सम्बन्धित मानवताविरुद्धको अपराधमा उनलाई अनुपस्थितिमै मृत्युदण्डको सजाय सुनाइएको थियो। तर हसिनाले उक्त फैसला अस्वीकार गर्दै आएकी छन्।
हसिनाको स्वदेश फर्किने योजना, अवामी लिगको दुईदिने बन्द आह्वान र राजनीतिक हिंसामा विदेशी आर्थिक सहयोग भइरहेको भन्ने बीएनपीको आरोपले बंगलादेशका अनसुल्झिएका राजनीतिक विभाजनलाई फेरि चर्चाको केन्द्रमा ल्याएको छ।