Paywear Banner Desktop
Paywear Banner Mobile
विस्तृत शान्ति सम्झौताको २० वर्ष

सङ्क्रमणकालीन न्यायलाई छिटो निष्कर्षमा पुर्‍याउन मानवअधिकार आयोगको आग्रह

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले विस्तृत शान्ति सम्झौता भएको २० वर्ष पूरा भइसक्दा पनि सङ्क्रमणकालीन न्याय निष्कर्षमा पुग्न नसकेको भन्दै गम्भीर चिन्ता व्यक्त गरेको छ ।

शान्ति सम्झौताको २० वर्ष पुगेको सन्दर्भमा आयोगका सहसचिव एवं प्रवक्ता डा. टीकाराम पोखरेलद्वारा जारी प्रेस-विज्ञप्तिमा सङ्क्रमणकालीन न्याय प्रक्रियालाई छिटो टुङ्गोमा पुर्‍याएर पीडितको न्याय पाउने अधिकार सुनिश्चित गर्न सरकार तथा सम्बन्धित पक्षसँग आग्रह गरिएको छ ।

विज्ञप्तिमा २०६३ मङ्सिर ५ गते नेपाल सरकार र तत्कालीन नेकपा (माओवादी) बीच विस्तृत शान्ति सम्झौता भएपछि कतिपय विषय सम्पन्न भइसके पनि द्वन्द्वकालीन गम्भीर मानव अधिकार उल्लङ्घनका घटनाको छानबिन, दोषीलाई कारबाही र पीडितलाई न्याय प्रदान गर्ने कार्यमा आशातीत प्रगति हुन नसकेको उल्लेख छ । शान्ति सम्झौताको दफा ५.२.५ बमोजिम विगतमा तीन पटकसम्म आयोगहरू गठन भए पनि परिणाम आउन नसक्नु चिन्ताजनक रहेको आयोगको ठहर छ ।

हाल सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग पदाधिकारीविहीन अवस्थामा रहेको र नयाँ सरकारले समेत आयोग गठनमा प्राथमिकताका साथ सक्रियता नदेखाउँदा वर्षौंदेखि न्यायको पर्खाइमा रहेका पीडितहरूको आशा निराशामा परिणत भएको विज्ञप्तिमा जनाइएको छ ।

यसअघि कानुन संशोधन नभएकाले काम गर्न कठिन भएको भनिए पनि अहिले कतिपय कानुन संशोधन भइसकेको अवस्थामा समेत पीडितको न्याय प्राप्तिको अधिकार सुनिश्चित हुन नसक्नुलाई आयोगले अत्यन्त गम्भीर रूपमा लिएको जनाएको छ ।

आयोगले सङ्क्रमणकालीन न्याय प्रक्रियालाई विश्वसनीय र प्रभावकारी बनाउन पीडित केन्द्रित दृष्टिकोण, सत्य जान्न पाउने अधिकार, न्यायसहितको परिपूरण र घटना नदोहोरिने सुनिश्चितता आवश्यक रहेको औँल्याएको छ । यसका लागि अब गठन हुने आयोगहरूलाई पर्याप्त जनशक्ति तथा भौतिक स्रोतसाधनको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराइएको छ ।

प्रवक्ता पोखरेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘पीडितलाई प्राथमिकतामा राखी दण्डहीनताको अन्त्य तथा पीडित र साक्षीको संरक्षणको कानुनी, नीतिगत र व्यावहारिक सुनिश्चितता गर्दै पीडितहरूको समेत अर्थपूर्ण सहभागितामा स्वतन्त्र र विश्वसनीय आयोग गठन गरी सङ्क्रमणकालीन न्यायलाई शीघ्र निष्कर्षमा पुर्‍याउन आयोग नेपाल सरकार तथा सम्बन्धित सबैमा आह्वान गर्दछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

खुशी ०
दुखी ०
अचम्म ०
क्रोधित ०
माया ०

प्रतिक्रिया

Paywear Banner Desktop
Paywear Banner Mobile
×

रोमनमा लेख्नुहोस् (Type in Romanized Nepali)

LIVE

नेपाली युनिकोड (Devanagari Unicode)

पाठ सफलतापूर्वक प्रतिलिपि गरियो!