काठमाडौं । श्रमशक्ति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले अभिनेत्री गौरी मल्ललाई लक्षित गर्दै आफूहरूको सरकार बने जेल हाल्ने र श्रमदानमा ढुंगा बोकाउने चेतावनी दिएका छन् ।
फिल्म ‘ककाकिकी’को प्रचारका क्रममा अभिनेत्री मल्ललगायत कलाकारलाई प्रहरीले पक्राउ गरेको दृश्य सार्वजनिक भएपछि साम्पाङले सरकारको विरोध गर्दै सामाजिक सञ्जालमा स्टाटस लेखेका थिए । तर, उक्त पक्राउ वास्तविक नभई फिल्म प्रचारका लागि गरिएको नाटकीय दृश्य भएको पुष्टि भएपछि उनले आफ्नो स्टाटस हटाएका थिए ।
नबुझी हतारमा प्रतिक्रिया दिएको भन्दै साम्पाङको आलोचना भइरहेका बेला उनले पुनः अभिनेत्री मल्ललाई लक्षित गर्दै फेसबुकमा टिप्पणी गरेका हुन् ।
उनले अंग्रेजीमा लेखेको स्टाटसमा गौरी मल्ल अब प्रतिष्ठित अभिनेत्री नरहेको दाबी गर्दै फिल्मको प्रचारका लागि आपराधिक प्रकृतिको प्र्याङ्क गरेको आरोप लगाएका छन् ।
‘यस्तो घटना हामी सरकारमा हुँदा भएको भए उनलाई जेल हाल्ने र श्रमदानमा ढुंगा बोकाउने थियौँ,’ साम्पाङले लेखेका छन् ।
फिल्मको प्रचारका लागि गरिएको उक्त गतिविधिलाई लिएर साम्पाङले अभिनेत्रीमाथि नै कारबाहीको चेतावनी दिएपछि उनको अभिव्यक्ति पुनः चर्चामा आएको छ ।