Paywear Banner Desktop
Paywear Banner Desktop

अमेरिकी रक्षामन्त्री हेगसेथविरुद्ध महाभियोग प्रस्ताव, ८ आरोपसहित हटाउने प्रयास

रिपब्लिकन सांसद थोमस मेसीले अमेरिकी संविधान उल्लंघन, गैरकानुनी सैन्य आदेश कार्यान्वयन र सर्वसाधारणको सुरक्षा गर्न असफल भएको आरोप लगाउँदै रक्षामन्त्री हेगसेथविरुद्ध आठ महाभियोग प्रस्ताव पेस गरेका छन्।

वासिङ्टन । अमेरिकी रक्षामन्त्री पीट हेगसेथविरुद्ध महाभियोग लगाउने सम्भावना बढेको छ। रिपब्लिकन सांसद थोमस मेसीले उनलाई पदबाट हटाउन महाभियोग प्रस्ताव पेस गरेका छन्।

सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै मेसीले हेगसेथले गैरकानुनी आदेश कार्यान्वयन गरेको, इरान र भेनेजुएलाविरुद्ध युद्ध सञ्चालन गरेर अमेरिकी संविधान उल्लंघन गरेको तथा योजनाबद्ध रूपमा सर्वसाधारणको सुरक्षा गर्न असफल भएको आरोप लगाए।

उनले सोमबार महाभियोगका आठवटा आरोप (आर्टिकल्स अफ इम्पिचमेन्ट) पेस गरेका छन्। यससँगै दुई दिनको प्रक्रिया सुरु भएको छ, जसले साताको मध्यसम्ममा प्रस्तावमाथि मतदान हुन सक्ने बाटो खोल्छ।

डेमोक्रेटिक पार्टीका शीर्ष नेताहरूले प्रस्तावको समर्थन गर्ने बताएका छन्। तर, हेगसेथले भने कडा प्रतिक्रिया दिएका छन्। उनलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको समर्थन पनि प्राप्त छ।

यस प्रकरणबारे अहिलेसम्म सार्वजनिक भएका मुख्य विवरण यस्ता छन्।

महाभियोग प्रक्रिया कसरी अघि बढ्छ ?

अमेरिकी संविधानले प्रतिनिधिसभालाई महाभियोग लगाउने एकमात्र अधिकार दिएको छ। यसको अर्थ मन्त्रिपरिषद्का सदस्यसहित उच्च सरकारी अधिकारीविरुद्ध महाभियोग प्रक्रिया सुरु गर्ने निर्णय प्रतिनिधिसभाले मात्र गर्न सक्छ।

संविधानअनुसार देशद्रोह, घुसखोरी वा अन्य गम्भीर अपराध तथा दुराचारका आधारमा सरकारी अधिकारीमाथि महाभियोग लगाउन र पदबाट हटाउन सकिन्छ।

प्रतिनिधिसभाको बहुमतले कुनै मन्त्रीविरुद्ध महाभियोग प्रस्ताव पारित गरेमा त्यसपछि सिनेटले उनलाई दोषी ठहर गर्ने वा सफाइ दिने निर्णय गर्छ। दोषी ठहर गरी पदबाट हटाउन सिनेटमा दुईतिहाइ मत आवश्यक हुन्छ।

राष्ट्रपति ट्रम्पले आफ्नो पहिलो कार्यकालमा दुईपटक महाभियोग सामना गरेका थिए। डेमोक्रेटिक पार्टीको नियन्त्रणमा रहेको प्रतिनिधिसभाबाट दुईपटक महाभियोग लाग्ने उनी अमेरिकी इतिहासकै पहिलो राष्ट्रपति बनेका थिए। तर, रिपब्लिकनको नियन्त्रणमा रहेको सिनेटले दुवैपटक उनलाई सफाइ दिएको थियो।

हेगसेथविरुद्ध महाभियोग पारित भएमा सन् १८७६ मा घुसखोरीको आरोपमा महाभियोग लागेका विलियम बेल्कन्यापपछि महाभियोग सामना गर्ने उनी अमेरिकी सेनाका प्रमुख हुनेछन्।

यस प्रकरणमा इरानसँगको युद्ध सञ्चालन र भेनेजुएलासँगको द्वन्द्व व्यवस्थापनलाई लिएर हेगसेथमाथि ‘गम्भीर अपराध तथा दुराचार’ गरेको आरोप लगाइएको छ।

हेगसेथमाथि के-के आरोप छन् ?

महाभियोगका आठ आरोपमध्ये चारवटा इरानसँग सम्बन्धित छन्। दुईवटा भेनेजुएला र सन् २०२५ देखि क्यारिबियन क्षेत्रमा डुंगामाथि गरिएका सैन्य आक्रमणसँग सम्बन्धित छन्। अर्को एउटा सन् २०२५ मा यमनमा अमेरिकाले सञ्चालन गरेको हवाई सैन्य अभियानसँग जोडिएको छ।

संघर्षसँग प्रत्यक्ष सम्बन्ध नभएको एकमात्र आरोप डेमोक्रेटिक सिनेटर मार्क केलीमाथि हेगसेथले गरेको व्यवहारसँग सम्बन्धित छ।

एरिजोनाबाट निर्वाचित डेमोक्रेटिक सिनेटर तथा अमेरिकी नौसेनाका अवकाशप्राप्त क्याप्टेन केलीले सन् २०२५ नोभेम्बरमा अन्य पाँच डेमोक्रेटिक सांसदसँग एउटा भिडियो सार्वजनिक गरेका थिए। त्यसमा उनीहरूले अमेरिकी सेनाका सदस्यलाई भनेका थिए, ‘हाम्रा कानुन स्पष्ट छन्। तपाईंहरूले गैरकानुनी आदेश अस्वीकार गर्न सक्नुहुन्छ।’

त्यसपछि हेगसेथले उनीहरूमाथि देशद्रोहको आरोप लगाउँदै कानुनी कारबाही गर्ने धम्की दिएका थिए। ट्रम्पले पनि सामाजिक सञ्जालमा उनीहरूको गतिविधि ‘मृत्युदण्डको सजाय हुन सक्ने’ बताएका थिए।

मेसीले पेस गरेका महाभियोग प्रस्तावमा हेगसेथमाथि कांग्रेसका सदस्यहरूको अभिव्यक्ति स्वतन्त्रता र निगरानीसम्बन्धी गतिविधिलाई रक्षा मन्त्रालयको इच्छा र निर्णयमा निर्भर बनाउने प्रयास गरेको आरोप लगाइएको छ।

इरान, भेनेजुएला र यमनबारे प्रस्तावमा के भनिएको छ ?

मेसीका अनुसार इरानमाथि आक्रमण गर्नेजस्ता गैरकानुनी आदेश जारी गरेकोमा ट्रम्प जिम्मेवार भए पनि ती आदेश कार्यान्वयन गर्ने निर्णय हेगसेथले गरेका थिए।

मेसीले भनेका छन्, ‘हेगसेथले गैरकानुनी आदेश कार्यान्वयन गर्नु हुँदैनथ्यो। त्यसैले हामी उनीमाथि महाभियोग लगाउँदैछौँ।’

इरानसँग सम्बन्धित चार आरोपमध्ये तीनवटा सन् १९७३ को ‘वार पावर्स रिजोलुसन’ अर्थात् युद्धसम्बन्धी अधिकारसम्बन्धी कानुनमा आधारित छन्। यो कानुनले कांग्रेसको स्वीकृतिबिना राष्ट्रपतिले युद्ध सञ्चालन गर्ने अधिकारलाई सीमित गर्छ।

महाभियोग प्रस्तावमा हेगसेथमाथि ‘सशस्त्र द्वन्द्वसम्बन्धी कानुन र सर्वसाधारणको सुरक्षाप्रति शत्रुतापूर्ण वातावरण’ सिर्जना गरेको आरोप लगाइएको छ।

यसमा उनले सन् २०२५ सेप्टेम्बरमा रक्षा मन्त्रालयको नाम परिवर्तन गरी युद्ध मन्त्रालय बनाउँदा व्यक्त गरेको भनाइलाई पनि आधार बनाइएको छ। त्यतिबेला उनले भनेका थिए, ‘अधिकतम घातक क्षमता, कमजोर कानुनी पालना होइन। राजनीतिक रूपमा सही देखिने होइन, हिंसात्मक प्रभाव।’

सोमबार सञ्चारकर्मीसँगको कुराकानीमा मेसीले मिनाबस्थित विद्यालयमा भएको आक्रमणलाई युद्धको अन्योलका कारण भएको गल्ती भन्ने दाबी अस्वीकार गरे। इरानमाथि एकपक्षीय आक्रमण गर्ने तयारी अमेरिकाले महिनौँदेखि गरेको उनको भनाइ थियो।

उनले भने, ‘युद्धको पहिलो दिन कुनै अन्योल हुँदैन।’

भेनेजुएलाका पूर्वराष्ट्रपति निकोलस मदुरो र उनकी पत्नी सिलिया फ्लोरेसलाई अमेरिकी विशेष सैन्य टोलीले जनवरीमा राजधानी काराकासमा छापा मारेर नियन्त्रणमा लिएको थियो। त्यसअघि अमेरिकाले क्यारिबियन सागर र पूर्वी प्रशान्त क्षेत्रमा लागुऔषध तस्करीमा संलग्न भएको आरोप लागेका डुंगामाथि महिनौँसम्म आक्रमण गरेको थियो।

हेगसेथले के जवाफ दिएका छन् ?

हेगसेथले मंगलबार पत्रकार सम्मेलन गर्दै महाभियोग प्रस्तावप्रति कडा प्रतिक्रिया दिएका छन्।

उनले भने, ‘यो एउटा प्रहसन हो र देखावटी नाटक हो। यो कुरा सबैलाई थाहा छ।’

आफूले नेतृत्व गरेका सैन्य अभियान कानुनसम्मत रहेको दाबी गर्दै उनले नीतिगत मतभेदका आधारमा आफूलाई महाभियोग लगाउन खोजेको भन्दै मेसीको आलोचना गरे।

उनले भने, ‘नीतिगत मतभेदको उचित समाधान कानुन निर्माण हो। बहस हो। अर्को राष्ट्रपतीय निर्वाचन हो। राष्ट्रपतिलाई र युद्धमन्त्रीलाई लक्षित गर्दै डेमोक्रेटहरूले प्रतिनिधिसभा र सिनेटको बैठकलाई देखावटी मुद्दा चलाउने मञ्च बनाउनु उचित होइन।’

हेगसेथले आफ्नो कार्यकालको बचाउ गर्दै इरान र ल्याटिन अमेरिकामा सञ्चालन गरिएका अमेरिकी सैन्य अभियानको पनि समर्थन गरे। आफूलाई कारबाही गर्नु भनेको आफ्नो कर्तव्य पूरा गर्ने सैनिकमाथि अभियोजन सुरु गर्ने पहिलो कदम हुने चेतावनी उनले दिए।

उनले भने, ‘यदि उनीहरू सैनिकमाथि कारबाही गर्न चाहन्छन् भने मसम्म आइपुग्नुपर्नेछ।’

उनले ट्रम्पले पहिलो कार्यकालमा दुईपटक महाभियोग सामना गरेर दुवैपटक सफाइ पाएको घटनासँग आफ्नो अवस्थाको तुलना गरे। त्यसपछि ट्रम्प अझ बलियो भएर फर्किएको उनको भनाइ थियो।

ट्रम्पले पनि महाभियोग लागेमा आफू हेगसेथको साथमा रहने बताएका छन्। उनले मेसीलाई ‘पूर्ण रूपमा असफल व्यक्ति’ भन्दै आलोचना गरेका छन्।

महाभियोग प्रस्ताव पारित हुने सम्भावना कति छ ?

अहिले प्रतिनिधिसभामा रिपब्लिकन पार्टीको बहुमत छ। तर, जनवरी ३ देखि डेमोक्रेटिक पार्टीले प्रतिनिधिसभाको नेतृत्व सम्हाल्नेछ।

डेमोक्रेटिक नेता हाकिम जेफ्रिजले प्रस्तावको समर्थन गर्ने स्पष्ट बताएका छन्। उनले आफू ‘दृढ रूपमा पक्षमा’ रहेको बताएका छन्। अधिकांश डेमोक्रेटिक सांसदले उनको धारणा पछ्याएमा मेसीलाई प्रस्ताव पारित गराउन केही रिपब्लिकन सांसदको समर्थन मात्रै आवश्यक पर्नेछ।

तर, सिनेटबाट दोषी ठहर गराउने विषय भने फरक छ।

प्रतिनिधिसभाले महाभियोग प्रस्ताव पारित गरे पनि अहिले सिनेटका १०० सिटमध्ये रिपब्लिकनसँग ५३ सिट छन्। अर्को वर्ष नयाँ कांग्रेस गठन हुँदा डेमोक्रेटिक पार्टीसँग करिब ५४ सिट हुने अनुमान गरिएको छ। तर, हेगसेथलाई पदबाट हटाउन आवश्यक ६७ मतको दुईतिहाइ बहुमत जुटाउन त्यो पर्याप्त हुने छैन।

सिनेटमा डेमोक्रेटिक पार्टीका नेता चक सुमरले नयाँ कांग्रेसले काम सुरु गरेपछि हेगसेथलाई सिनेटमा मुद्दा चलाएर जवाफदेही बनाउनुपर्ने बताएका छन्।

यसैबीच, मेसीले ट्रम्पलाई आफैँले हेगसेथलाई पदबाट हटाउन आग्रह गरेका छन्।

उनले भने, ‘राष्ट्रपति ट्रम्पले सिनेटबाट नयाँ व्यक्तिको नियुक्ति अनुमोदन गराउन सक्ने अवस्था रहँदै अहिले नै मन्त्री हेगसेथलाई प्रतिस्थापन गर्नुपर्छ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

खुशी ०
दुखी ०
अचम्म ०
क्रोधित ०
माया ०

प्रतिक्रिया

Paywear Banner Desktop
Paywear Banner Desktop
×

रोमनमा लेख्नुहोस् (Type in Romanized Nepali)

LIVE

नेपाली युनिकोड (Devanagari Unicode)

पाठ सफलतापूर्वक प्रतिलिपि गरियो!