काठमाडौं । ‘कबड्डी ५’ ले घरेलु बक्सअफिसमा शुक्रबार उछाल ओपनिङ गरेको छ । यो डेब्यू पछिल्लो कुनै नेपाली फिल्मले गरेकोमध्ये उत्कृष्ट हो ।
दशैं बक्सअफिसमा प्रदर्शनमा आएका अघिल्ला तीन फिल्मलाई दर्शक तान्न मुस्किल भैरहेको बेला रामबाबु गुरुङ निर्देशित फिल्मले भने शुक्रबार हलमा दर्शकको ठूलो संख्या नै तान्न सक्यो ।
२५० भन्दा धेरै शोजसहित प्रदर्शनमा आएको फिल्मको अकुपेन्सी पनि निकै उच्च देखियो । बेलुकीका सबै शोज लगभग शतप्रतिशत छन् । निर्मातामध्येका मणिराम पोखरेलले भने संचारकर्मीसँग झन्डै २ करोड ओपनिङ हुनसक्ने दाबी गरेका छन् ।
यद्यपि, चलचित्र विकास बोर्डले भने अबको १० दिनपछि मात्र कमाइको औपचारिक विवरण बाहिर ल्याउनेछ । फिल्मले समग्रमा उत्कृष्ट प्रतिक्रिया प्राप्त गरेको छ र दशैं बिदा आइतबारसम्म भएकाले कमाइले यही गतिमा निरन्तरता पाउन सक्ने देखिएको छ ।

शनिबारसम्मका अधिकांश शोजको पनि अग्रिम टिकट बिक्री भैसकेको देखिएको छ । निर्माता तथा कलाकार शुक्रबार हल भिजिटमा ब्यस्त देखिए जहाँ, उनीहरूले दर्शकसँग भलाकुसारी गर्दै प्रतिक्रिया लिए ।
प्रसिद्ध फ्रेन्चाइजको पाँचौ श्रृंखला भएकाले पनि दर्शक यो फिल्मलाई लिएर सुरुदेखि प्रतीक्षारत थिए, जसको प्रभाव पहिलो सप्ताहन्तको बक्सअफिसमा स्पष्ट देखिएको छ ।