बागलुङ । दशैंमा हिमाली भेँडा च्याङ्ग्राको मासु खाने गरिन्छ । बागलुङ बजारमा घटस्थापनापछि हिमालपारिको जिल्ला मुस्ताङ हुँदै च्याङ्ग्रा भित्रिएका छन् । मूल्य आकासिए पनि बागलुङमा मुस्ताङी च्याङ्ग्राको माग बढ्दो छ ।
कोसेलीका लागि र दशैंमा च्याङ्ग्राको मासु खाने प्रचलनले मूल्य आकासिए पनि व्यापार भने राम्रो भइरहेको यहाँका व्यापारी बताउँछन् । अहिले बागलुङमा रोज्जा च्याङ्ग्राको भाउ रु ४५ देखि ५० हजार पर्ने डोल्पा-मुस्ताङ हुँदै २५ दिनको पैदलयात्रामार्फत बागलुङ च्याङ्ग्रा बिक्रीका लागि आउनुभएका तेन्जिङ तार्के तामाङले बताए ।
“डोल्पा र मुस्ताङका २०० च्याङ्ग्रा ल्याएका थिएँ, जसमध्ये १०० बागलुङ र १०० च्याङ्ग्रा पोखरा पठाएको छु । बागलुङमा बिक्री नभए सबै पोखरा पुग्छ, हाम्रो मुख्य बजार भनेको पोखरा हो”, तामाङले भने, “तीन वर्षदेखि च्याङ्ग्राको कारोबार गर्दै आएको छु, दसैँको समयमा बागलुङ र पोखरालाई डोल्पा र मुस्ताङका च्याङ्ग्रा ल्याउँछु । अहिले पनि गोठमै रु ३७ हजारसम्म च्याङ्ग्राको मूल्य परेको छ, माग भने घटेको छैन । दशैंअघि बिक्री गरिसक्ने योजना छ ।”
उनका अनुसार रु ३२ हजारदेखि रु ३७ हजारका दरले गोठबाटै च्याङ्ग्रा खरिद गरेर ल्याउने गरिएको छ ।
हिमपातले यसपटक च्याङ्ग्रा ल्याउन समस्या भएको उनको अनुभव रहेको छ । गत वर्षभन्दा यसपटक च्याङ्ग्राको आयात कम भएकाले व्यापार बढ्ने उनको आँकलन रहेको छ ।
बागलुङका च्याङ्ग्रा व्यापारी बलबहादुर थापाले दसैँ लक्षित गरी प्रतिकिलो रु दुई हजार २०० मा मासु बिक्री गरिरहेको बताए। यसपटक मूल्य बढेकाले च्याङ्ग्रा थोरै लिएको उनको भनाइ छ । यस वर्ष मुस्ताङबाट बडादसैँलाई लक्षित गरी कम च्याङ्ग्रा भित्रिएका छन् । मूल्य वृद्धि र बाढीपहिरोका कारण मुस्ताङको सडक लामो समय अवरोध हुँदाहुँदा थोरै मात्रमा च्याङ्ग्रा भित्र्याएका व्यापारी बताउँछन् ।
हिमाली क्षेत्रको जडीबुटी खाएकाले स्वादिलोसँगै स्वास्थ्यका लागि फाइदा हुने च्याङ्ग्रा खासगरी बडादसैँ र तिहारमा बढी खपत हुने गरेको यहाँका व्यापारी बताउँछन् । दसैँमा प्रायः उपभोक्ताले मासुका लागि भेडाच्याङ्ग्रा खोज्ने गरेकाले हिमालपारिबाट घटस्थापनाको भोलिपल्टदेखि च्याङ्ग्रा भित्रिन थालेको हो ।
“स्थानीय खसीबोकाको मासु बढी खपत भइरहेको छ, दसैँमा च्याङ्ग्रा खाने परम्परा भए पनि मूल्य वृद्धिका कारण सबैले खान सक्ने अवस्था छैन”, अहिले रोज्जा च्याङ्ग्राकै मूल्य रु ५० हजारसम्म पर्न जान्छ”, व्यापारी थापाले भने, “मुस्ताङको छोसेर, कागबेनी, चमरलगायत ठाउँमा पुगेर व्यवसायीले च्याङ्ग्रा ल्याउने गरिएको छ ।”
हिमाली भेगमा पालन गरिएका भेँडाच्याङ्ग्र्राले लेकाली जडीबुटी खाने भएकाले मासु पोषिलो र स्वादिष्ट हुने उपभोक्ताको भनाइ छ । चाडपर्वका लागि हिमालपारिको जिल्ला मुस्ताङबाट च्याङ्ग्रा हिँडाएर बागलुङ हुँदै पोखरा लगिने गरेको छ । मुस्ताङबाट १३ हजार ८१७ भेडा च्याङ्ग्रा म्याग्दी, बागलुङ हुँदै पोखरा र काठमाडौँ निकासी भएका छन् । अहिलेसम्म मुस्ताङबाट ११ हजार ७०० च्याङ्ग्रा र दुई हजार २१५ भेडाको स्वास्थ्य परीक्षण गरी अन्य जिल्ला पठाइएको छ ।