काठमाडौं । संसदीय सुनुवाइ समितिले मलेसियाका लागि मन्त्रीपरिषबाट राजदूतमा प्रस्ताव गरेका चुडामणी खरेलको नाम सर्वसम्मतिले अस्वीकृत गरेको छ ।
समितिको बुधबारको बैठकमा खरेलको नाम निर्णयार्थ प्रस्तुत गर्दा रास्वपा, कांग्रेस, एमाले, नेकपालगायत दलका सबै सांसदले सर्वसम्मत अस्वीकृत गरेका हुन् ।
उच्च नैतिक चरित्र नदेखिएकाले खरेललाई राजदूत पदमा नियुक्तिका लागि अनुमोदन गर्न नहुने निर्णय सर्वसम्मत भएको समिति सभापति बोधनारायण श्रेष्ठले घोषणा गरेका थिए । उनीमाथि आर्थिक अनियमितता लगायतको आरोप थियो ।
साउदी अरबका लागि प्रस्तावित गिरीबहादुर सुनारविरुद्ध ‘महिला हिंसादेखि आर्थिक अपचलनसम्म’ को आरोप लागेका छन् । उनीबाट पीडित भनिएकी महिलाले सांसदहरू समक्ष आफूलाई दिएको हिंसाको वृत्तान्त सुनाएकी छन् । गिरीबहादुरले सांसद खगेन्द्र सुनुवारसँग मिलेर एक डीआईजीको बढुवा गर्न ३३ लाख रुपैयाँ घूस लिएको आरोपसमेत छ ।
समितिले सुनारको नाम पनि अस्वीकृत गरेको छ ।
साथै, जापानका लागि प्रस्तावित राजदूत जिग्यानकुमार थापाविरुद्ध ‘जापानको पीआर लिएको’ आरोपसहितको उजुरी पनि समितिमा परेको छ । संसदीय सुनुवाइ समितिमा परेका दुवै जनाविरुद्धका उजुरीमा आरोपित व्यक्तिहरूलाई राजदूत नियुक्तिका लागि अनुमोदन नगर्न माग गरिएको छ ।
समितिले जापानका लागि प्रस्तावित राजदुत जिग्यानकुमार थापाको नाम निर्णयार्थ प्रस्तुत गरेपछि बैठक नै स्थगित गरेको छ । सभापति श्रेष्ठले अब दशैंmछि बैठक बसेर यसबारे निर्णय लिने बताएका छन् ।