काठमाडौं । नेपाली कांग्रेसको विवादमा पूर्वसभापति शेरबहादुर देउवा र पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले दिएका छुट्टाछुट्टै पुरक निवेदन सर्वोच्च अदालतले मंगलबार मात्रै दर्ता गर्ने भएको छ।
यसअघि शुक्रबार पनि सर्वोच्च पुगेका देउवाका वारेस प्रक्रिया नमिलेपछि रिट फिर्ता लिएर गएका थिए। सोमबार देउवा र खड्काको तर्फबाट छुट्टाछुट्टै पुरक निवेदन पेश भएको छ।
कांग्रेसले घोषणा गरेको १५औँ महाधिवेशन रोक्न माग गर्दै परेका निवेदन सोमबार दर्ता नभएको र मंगलबार दर्ता हुने सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले जानकारी दिए।
विशेष महाधिवेशनबाट चुनिएको गगन थापा नेतृत्वको कार्य समतिले १५औँ महाधिवेशनको तालिका सार्वजनिक गरिसकेको छ।
उनीहरूले महाधिवेशनका सम्पूर्ण प्रक्रिया रोक्न माग गरेका छन्। यस्तै यसअघिको फैसला पुनरावलोकनसँगै अहिले पेश गरेको निवेदन पनि हेर्न माग छ।
पार्टी आधिकारीकताको विवाद सर्वोेच्च अदालतमै रहेकाले त्यसको छिनोफानो नभएसम्म महाधिवेशन रोक्नु पर्ने दुवैको माग छ। निर्वाचन आयोगले विशेष महाधिवेशनबाट चुनिएको थापा नेतृत्वको कार्यसमितिलाई वैधानिकता दिएपछि देउवा र खड्का सर्वोच्च गएका थिए। सर्वोच्चले पनि निर्वाचन आयोगकै निर्णय सदर गरेको थियो।
त्यसपछि उक्त आदेश पुनरावलोकन गर्न माग गर्दै दुवैले निवेदन दिएका थिए। निवेदनमा प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मासहितको पूर्ण इजलासले निसा दिएपछि कांग्रेसको आधिकारिकता विवाद पुनः बल्झिएको हो।