काठमाडौँ । काठमाडौँ उपत्यकामा गुड्ने सार्वजनिक सवारी साधनहरु कुन ठाउँमा छन्, आफूले पर्खिएको ठाउँमा आइ पुग्न कति समय लाग्छ, जस्ता सार्वजनिक यातायातको सहजतासँग जोडिएको ‘केटीएम पब्लिक ट्रान्सपोर्ट’ मोवाइल एप्लिकेसन सार्वजनिक गरिएको छ ।
बुधबार आज ‘संघीय राजधानी सहरी क्षेत्र सार्वजनिक यातायात परिषद’ को तेस्रो वैठकमा परिषद्का अध्यक्ष एवं काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले एप्लिकेसन सार्वजनिक गरेकी हुन् ।
यो एप्लिकेसनमा जीपीएस जडान भएका करिब १ हजार २ सय सवारी साधनका बारेमा जानकारी लिन सकिन्छ । यसलाई बढाउँदै लगिने प्राधिकरणको योजना छ ।
बैठकमा अध्यक्ष डंगोलले, उपत्यकाभित्रको दिनमा चल्ने यातायात प्रणालीलाई सरल, सहज र पहुँचयुक्त बनाउन तथा रात्रिकालीन सेवालाई विस्तार गर्न र स्कूल कलेज जानुपर्ने विद्यार्थीहरुका लागि बिहान सबैरैदेखि सार्वजनिक यातायात सञ्चालन गर्नुपर्ने अवस्था रहेकोले यसका लागि स्थानीय तहहरुका बिचमा वित्तीय साझेदारी सहितको प्रणालीमा काम गर्नु पर्ने बताइन् ।
‘सार्वजनिक यातायात कुनै एक पालिकाको सीमाभित्र मात्र राख्न मिल्ने क्षेत्र होइन । पालिका पालिका जोडिने भएकोले यो पालिकाहरुको साझा सवाल हो । यसमा समन्वय गरेर कार्यक्रम र सेवालाई एकरुपता दिनुपर्छ’’ उहाँको भनाइ छ ।
ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले, सार्वजनिक बस चढ्ने यात्रुले सहज भएको महसुस गराउने प्रणाली चाहिएको बताए । ‘सार्वजनिक यातायातको सुधारका लागि यो परिषदले आकार बदल्न सक्ने क्षमता राख्छ । यो क्षमताको प्रयोग गरौँ’ उनले भने ।
‘प्राधिकरणको कार्यक्षेत्रमा अन्तरसरकार समान बुझाइ नहुँदा विगतमा काम अगाडि बढाउन सकिएको थिएन’ बैठकमा प्राधिकरणका कार्यकारी अधिकृत कुबेर नेपालीले भने, ‘अघिल्लो वर्ष सरकारले खारेजीको सूचीमा राखेका कारण अगाडि बढाउन खोजिएका काम पनि रोकिए । यस वर्ष पुनसंरचित गर्ने भन्ने नेपाल सरकारको निर्णय आएको छ । यसकारण चालु आर्थिक वर्षका लागि कार्यक्रम प्रस्तावित गरिएका छन् ।’
यस वर्षका लागि बस स्टपर पिक ड्रप प्वाइन्ट निर्धारण, रात्रि बस सञ्चालनको सर्त, सम्झौताको मोडल तयार गरि नगरपालिकासँग सहकार्य थालनी गर्ने, स्थानीय तहसँगको साझेदारीमा मुख्य बस स्टप, बस पार्क आदिमा जीपीएस ट्याकिङ् समेतका आधारमा सार्वजनिक यातायात सूचना प्रणालीको जडान, नगद रहित भाडादर लागू गर्न कानूनी पूर्वाधार तयार गर्ने कार्यक्रम स्वीकृत भएका छन् ।