न्यु ह्याम्पसायर (अमेरिका) । नेपालीमूलका अमेरिकी विश्वबहादुर शाहले न्यु ह्याम्पसायर हाउस अफ रिप्रेजेन्टेटिभ्स अन्तर्गत हिल्सबरो काउन्टी जिल्ला ४१ बाट उम्मेदवारी घोषणा गरेका छन्।
उक्त जिल्लामा म्यानचेस्टरका वार्ड २, ४, ५ र ७ समावेश छन् । त्यहाँको जिल्ला ४१ बाट ४०० सदस्यीय राज्य प्रतिनिधिसभामा तीन जना प्रतिनिधि निर्वाचित हुन्छन्।
डेमोक्र्याट दलका तर्फबाट शाहले आफ्नो अभियानको प्राथमिकता जीवनयापनको खर्च घटाउने, आर्थिक न्याय, सार्वजनिक शिक्षा, स्वास्थ्य सेवा, बाल हेरचाह तथा ज्येष्ठ नागरिकलाई सहयोग गर्ने विषयमा केन्द्रित हुने बताएका छन्। उनी सेप्टेम्बर ८ मा हुने डेमोक्र्याटिक प्राइमरीमा प्रतिस्पर्धा गर्दैछन्, जहाँ मतदाताले नोभेम्बर ३ को आमनिर्वाचनका लागि तीन जना उम्मेदवार चयन गर्नेछन्।
‘म मेहनती परिवारले न्याय र समुन्नत हुने वास्तविक अवसर पाउनुपर्छ भन्ने विश्वासका साथ चुनाव लड्दैछु,’ शाहले विज्ञप्तिमा भनेका छन्।
शाहले स्वास्थ्य सेवा र बाल हेरचाहलाई सुलभ बनाउने, सार्वजनिक विद्यालयलाई पूर्ण रूपमा वित्तीय सहयोग उपलब्ध गराउने र कामकाजी परिवारलाई कर राहत दिने नीति अघि बढाउने बताएका छन्। उनले ज्येष्ठ नागरिकलाई सम्मानका साथ व्यवहार गर्दै अवकाशपछिको जीवनमा आवश्यक सहयोग सुनिश्चित गर्ने नीतिको पनि वकालत गरेका छन्।
निर्वाचित भएमा, स्नातकपछि युवा पुस्तालाई म्यानचेस्टरमै बस्न र काम गर्न प्रोत्साहित गर्नु आफ्नो प्रमुख प्राथमिकता हुने शाहले बताएका छन्। उनले रोजगारी तथा करियरका अवसर विस्तार गर्ने र युवालाई पहिलो घर वा अपार्टमेन्ट किन्न अथवा भाडामा लिन सक्ने बनाउने प्रतिबद्धता जनाएका छन्।
शाह चार जनाबीचको डेमोक्र्याटिक प्राइमरी प्रतिस्पर्धामा छन्। उनका प्रतिस्पर्धीमा वर्तमान प्रतिनिधि लिली एम. फस तथा उम्मेदवार रेबेका स्मिथ र टम स्टुवर्ट छन्।